रोजगारीका लागि साउदी पुगेका एक सय नेपाली अलपत्र


  साउदी अरब, २४ असोज । खाडी मुलुक जाने कामदारका लागि सरकारले‘फ्रि भिसा फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर साउदी आएका एक सय नेपाली बिचल्लीमा परेका छन् ।धन कमाउने मीठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि बिचल्लीमा परेका हुन् । उनीहरु काठमाडौँमा रहेको गोल्डेन इगल मेनपावर, सस मेनपावर र एड्भाञ्चर हुमन रिसोर्स गरी तीन छुट्टाछुट्टै मेनपावरमार्फत रोजगारीका लागि साउदी आइपुगेका थिए ।दुई वर्षे करार सम्झौतामा अलजजिरा सपोर्ट सर्भिस कम्पनीमा कामदारका रुपमा आएका उनीहरुले हालसम्म काम पाउन सकेका छैनन् । गत सेप्टेम्बरको १ र २ तारिखमा विभिन्न लटमा गरी साउदी आएका उनीहरु हराजस्थित दुईवटा क्याम्पमा बेरोजगार भएर बस्न बाध्य छन् ।एक हजार तलब र दुई सय खानासहित १२ सय साउदी रियल तलब पाउने गरी सस मेनपावरमार्फत उक्त कम्पनीमा आएका दार्चुलाका वीरसिंह समालले आफू नराम्रोसँग ठगिएको दुःखेसो गरे ।मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभनमा पारेर आफूसँग रु एक लाख २० हजार लिएको उनले बताए ।   ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने, बस्नेसम्म टुङ्गो छैन, समालले भने – “आएको दिनदेखि नै चिसो भुइँमा सुतेका छौँ ।”पीडित समालका अनुसार कम्पनीले खानाको लागि दुई सय साउदी रियलबाहेक अहिलेसम्म केही दिएको छैन । समालसँगै आएका उदयपुरका रुद्र राउतले गोल्डेन इगल मेनपावरलाई रु एक लाख पाँच हजार बुझाएर उक्त कम्पनीमा आएको बताए । लाखौँ रुपैयाँ मेनपावर कम्पनीलाई बुझाएर आए पनि काम पाउन नसक्दा पीडित बन्नुपरेको राउतले गुनासो गरे । आफूसँगै उक्त क्याम्पमा रहेका एक सय नेपालीले हालसम्म काम नपाएको राउतले बताए ।गोल्डेन इगल मेनपावरमार्फत नै साउदी अरब आइपुगेका उदयपुरका प्रदीप राउतले डेढ महिना खालीहात बस्नुपर्दा घरपरिवारसमेत तनावमा रहेको बताए ।मासिक १२ सय रियल कमाइ हुन्छ भनेर मेनपावर कम्पनीले रु ७० हजार लिएको उनले सुनाए । “घरपरिवार छाडेर धन कमाउन भनेर विदेश त आइयो तर यहाँ, न खाने बस्ने ठेगान छ, न काम नै पाइएको छ, हामी त बिचल्लीमा परेका छौँ” – राउतले निराश हुँदै भने ।काम लगाउने विषयमा कम्पनीले चासो नदिएपछि काठमाडौँमा रहेको मेनपावर कम्पनीलाई पटकपटक फोन ग¥र्यौं, फोन गर्दा केहीदिनमै काम मिल्छ भन्ने आश्वासन पाए पनि आजसम्म काम नपाएको राउतले दुःखेसो पोखे । उनले अगाडि थपे – “आजभोलि मेनपावर कम्पनीलाई फोन गर्दा फोन उठ्दैन, फोन उठे पनि काटिदिन्छन् । एउटा कोठामा ८–९ जनासम्म कोचिएर बसेका छौँ सुत्नका लागि ओछ्यान छैन, खाना पकाउन भाँडा छैनन्, न दाम न काम भएको छ, हामी त बर्बाद भयौँ ।”क्याम्पमा पिउने पानीको व्यवस्था नहुँदा केही नेपाली कामदार बिरामी परेको उनले बताए । राउतका अनुसार कम्पनीले काममा लगाउन नसक्दा केही नेपाली कामदार कामको खाजीमा कम्पनी छाडेर भागेका छन् ।यस्तै सस मेनपावरमार्फत रु ९० हजार बुझाएर सो कम्पनीमा कामदारका रुपमा आएका सिन्धुलीका सूर्य लामाले मेनपावर कम्पनीले आफूहरुलाई विदेशी भूमिमा अलपत्र पारेको बताए । कमाइ हुन नसक्दा घरपरिवारलाई फोन गर्नसमेत नपाएको उनले गुनासो गरे ।एड्भाञ्चार हुमन रिसोर्समार्फत साउदी आइपुगेका महोत्तरीका भरत यादवले डेढ महिनादेखि काम गर्न नपाउँदा आफूहरु निकै पीडित बनेको बताए । मेनपावर कम्पनीले आफूसँग रु ९० हजार लिएर पठाएको भए पनि अहिलेसम्म काममा लगाउन नसकेको यादवले सुनाए ।गोल्डेन इगल मेनपावरमार्फत नै साउदी आएका तेह्रथुमका हजिन्द्रबहादुर कार्कीको पीडा पनि उस्तै छ । साहुसँग ऋण लिएर रु ७८ हजार तिरेर विदेश आए पनि कमाइ हुन नसक्दा निकै अप्ठ्यारोमा परेकोे उनले बताए । काम नपाएर आफूहरु बिचल्लीमा परेको विषयमा हारगुहारका लागि कसैसँग सम्पर्क गर्न नसकिएको कार्कीले बताए ।
Share on Google Plus

About सुरक्षा हाम्रो खबर

नमस्ते! हजुरहरुलाई मनोरन्जन अनि सुसुचित गराउने उद्देश्यले यो वेब-ब्लग खोलिएको हो। म कृष्ण सर्तुङ्गे मगर अनि के. बि. पौडेल मिलि चलाई रहेको जानकारी गराउन चाहन्छौ। यदि कुनै पनि रतिक्रिया या आफ्ना रचना पनि वाचन होस् भन्ने चाहनु हुन्छ भने हामीलाई सिधै जिमेल गर्नुहोला। धन्यवाद। हाम्रो जिमेल - sahitya.sanggita.gmail.com धन्यवाद।

0 comments:

Post a Comment

यस सामग्रीका बारेमा केहि लेख्न मन भए तल कमेन्ट बक्समा लेखिदिनुहोला। धन्यवाद !